जीवनका पानाहरूबाट

Dear Moon

Dear Moon, 🌙
मान्छे पनि अचम्मको हुन्छ है—
आफ्नो गल्तीको सबैभन्दा ठूलो वकिल,
अरूको गल्तीको सबैभन्दा कडा न्यायाधीश।


Dear Moon, 🌙
सबैलाई बुझ्ने कोशिश गर्दागर्दै,
कहिलेकाहीँ आफूलाई नै सोध्न बिर्सिन्छौँ—
“मलाई चाहिँ के चाहिएको छ?”


Dear Moon, 🌙
कहिलेकाहीँ कसैसँग रिस उठेको हुँदैन,
कसैसँग गुनासो पनि हुँदैन।
बस्, मनमा यति धेरै कुरा थुप्रिएका हुन्छन् कि
कसैले “के भयो?” भनेर सोध्दा पनि
“केही होइन” भन्न मन लाग्छ।


Dear Moon, 🌙
कहिलेकाहीँ कसैको एउटा वाक्यले पनि कति चित्त दुख्छ, है?
भन्नेले त बोलेर बिर्सिन्छ,
तर सुन्नेको मनमा त्यही कुरा कतै न कतै अड्किरहन्छ।
किनकि केही शब्द कानबाट हराउँछन्,
तर मनबाट कहिल्यै हराउँदैनन्।


Dear Moon, 🌙
सानो छँदा ठूलो हुन हतार थियो,
अहिले फेरि सानो हुन मन लाग्छ।
जहाँ आँसु पुछिदिने हातहरू थिए,
अनि मन दुख्दा लुकाउनुपर्दैनथ्यो।
सायद हामी ठूलो त भयौँ,
तर मनभित्रको त्यो सानो बच्चा
अझै कसैको काख खोजिरहेछ।


Dear Moon, 🌙
सानो हुँदा मन दुख्यो भने ठूलो स्वरले रुन्थ्यौँ।
कसैले सुन्ला, फकाउन आउला भनेर।
ठूलो भएपछि पनि मन त उस्तै दुख्दो रहेछ।
फरक यत्ति हो, अहिले रुँदा आवाज दबाउँछौँ,
आँसु पुछ्छौँ,
अनि कसैले थाहा पाउनुअघि नै अनुहार मिलाएर बस्छौँ।


Dear Moon, 🌙
मान्छेले त्यति मात्रै बुझ्छन्, जति उनीहरू बुझ्न चाहन्छन्।
जसले बुझ्छन्, उनीहरूलाई सम्झाइरहनु पर्दैन।
अनि जसले कहिल्यै बुझेनन्,
सायद उनीहरू आफ्ना थिएनन् नै।


Dear Moon, 🌙
परिपक्वता उमेरले होइन, भोगाइले सिकाउँदो रहेछ।
कसैले वर्षौँ लगाएर बुझ्ने कुरा,
कसैले एउटै घटनाबाट सिक्दो रहेछ।
त्यसैले त होला,
कोही सानै उमेरमा गम्भीर हुन्छन्,
अनि कोही उमेर ढल्किँदा पनि उस्तै।


Dear Moon, 🌙
अरूको जीवनसँग आफ्नो तुलना गर्दागर्दै
आफ्नै साना खुसीहरू देख्न नछुटून्।
सबैको समय एउटै हुँदैन।
कसैको आँगनमा फूल फुलिसकेको होला,
कसैको आँगनमा भर्खरै बीउ उम्रिँदै होला।
आफ्नै गतिमा अघि बढ्नु भनेको पछि पर्नु होइन।

Share this story

STILL IN THE MOOD TO READ?

There's another page waiting.

Take whichever path feels right today.

Written with care by Srishty · Meet the writer ↗

जीवनका पानाहरूबाट
Stories, learnings, experiences & life.

© 2026 Sano Safar · Srishty Lamichhane