जीवनका पानाहरूबाट

भोलिपर्सि…

भोलिपर्सि…

जीवनका पानाहरूबाट — सानो सफर

“मामु, तपाईंको ब्याग म बोक्छु है!”

सानो छँदा मामु कतै जान तयार हुनुभयो कि उहाँको ब्याग बोक्न मलाई हतार हुन्थ्यो।

ब्याग आफूभन्दा ठूलो भए पनि केही फरक पर्दैनथ्यो। कहिलेकाहीँ भुइँमा घिस्रिन्थ्यो, कहिलेकाहीँ काँधबाट खस्थ्यो। तर मामुलाई बोक्न दिनैपर्थ्यो।

अनि मामुको स्यान्डल!

त्यो त झन् अर्कै रमाइलो थियो।

आफ्ना साना खुट्टा उहाँको ठूलो स्यान्डलमा हालेर घरभरि हिँड्थेँ। हिँड्दा फ्यात्त फ्यात्त आवाज आउँथ्यो। कहिले लड्थेँ पनि। तर मलाई लाग्थ्यो, मामुको स्यान्डल लगाउन पाएपछि म पनि उहाँजस्तै ठूलो भएँ।

मामुले ऐनाअगाडि बसेर कपाल कोर्नुभयो भने मलाई पनि कपाल कोर्नुपर्थ्यो। उहाँले लिपस्टिक लगाउनुभयो भने मलाई पनि चाहिन्थ्यो।

अनि मेरी बहिनी पनि कहाँ कम थिई र!

कहिले हामी दुवै मामुको मेकअपका सामान लिएर बस्थ्यौँ। एउटीले केही लगाई भने अर्कीलाई पनि त्यही चाहिने। कहिले ऐनाअगाडि पालो कुर्दाकुर्दै झगडा पर्थ्यो।

अनि केहीबेरमै फेरि सँगै खेल्न थाल्थ्यौँ।

मामु भान्सामा हुनुहुन्थ्यो भने हामी पनि भान्सामै।

“मामु, म पनि बनाउँछु है!”

कहिले चम्चा चलाउने, कहिले पिठो मुछ्ने, कहिले तरकारी पखाल्ने।

हामीले गरेको मद्दतभन्दा पछि मामुले सफा गर्नुपर्ने काम धेरै हुन्थ्यो होला।

तर त्यतिबेला त्यो कुरा कहाँ बुझिन्थ्यो र!

मामु कुचो लगाउँदै हुनुहुन्थ्यो भने कुचो खोसेर, “म बढार्छु!” भन्थेँ।

धुलो एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याएर आफूले ठूलो काम गरेजस्तो लाग्थ्यो।

मामु कहिलेकाहीँ हाँस्नुहुन्थ्यो। कहिले “ल, पुग्यो अब, खेल्न जाऊ” भन्नुहुन्थ्यो।

तर हामीलाई खेल्नुभन्दा उहाँकै वरिपरि बस्न मन पर्थ्यो।

उहाँले के गर्दै हुनुहुन्छ, कहाँ जाँदै हुनुहुन्छ, के लगाउँदै हुनुहुन्छ, सबै जान्नुपर्थ्यो।

अहिले सम्झिँदा अचम्म लाग्छ।

त्यो उमेरमा हाम्रो संसार कति सानो थियो।

घर, मामु, हामी दुई बहिनी अनि हाम्रा सानासाना जिद्दीहरू।

त्योभन्दा बाहिर पनि एउटा ठूलो संसार छ भन्ने थाहै थिएन।

कहिलेकाहीँ मामु व्यस्त हुँदा हामीले केही माग्यौँ भने उहाँ भन्नुहुन्थ्यो,

“अहिले होइन, भोलिपर्सि है।”

भोलिपर्सि।

कति सजिलो शब्द थियो त्यो।

भोलि होइन भने पर्सि त पक्कै आउँछ भन्ने लाग्थ्यो।

त्यसैले चित्त बुझाउँथ्यौँ।

फेरि खेल्न थाल्थ्यौँ।

दिनहरू बित्दै गए।

हामी दुई बहिनी पनि ठूला हुँदै गयौँ।

मामुको स्यान्डल लगाएर घरभरि हिँड्ने उमेर सकियो। उहाँको लिपस्टिक लुकेर लगाउनुपर्ने पनि भएन। आफ्नै सामान हुन थाले, आफ्नै साथीहरू, आफ्नै रहरहरू।

कहिले पढाइ, कहिले काम, कहिले आफ्नै भविष्यको चिन्ता।

सानो हुँदा मामु जहाँ जानुभयो त्यहीँ जान खोज्ने म, बिस्तारै आफ्नै बाटो खोज्न थालेँ।

मामुसँग दिनभरि बस्ने समय कम हुँदै गयो।

त्यतिबेला त्यो परिवर्तन त्यति ठूलो लागेन।

सायद ठूलो हुनु भनेकै त्यस्तै हो।

हामी नयाँ कुराहरू पाउँदै जान्छौँ। अनि पुराना कुराहरू कहिले पछाडि छुटे, पत्तै पाउँदैनौँ।

समय बित्यो।

बिहे भयो।

घर फेरियो।

जिम्मेवारीहरू थपिए।

अनि एक दिन म आफैँ आमा बनेँ।

पहिलोपटक छोरीलाई काखमा लिँदा धेरै कुरा महसुस भएका थिए। तर त्यो सानी छोरी एक दिन मेरो बाल्यकालको ऐना बन्नेछिन् भन्ने चाहिँ सोचेकी थिइनँ।

अहिले मेरी ठूली छोरी मलाई कतै जान तयार भएको देख्छिन् कि दौडिएर आउँछिन्।

“मम्मा, तपाईंको ब्याग म बोक्छु है!”

म एकछिन उनलाई हेर्छु।

कहिलेकाहीँ त हाँसो उठ्छ।

त्यो ब्याग समात्ने तरिका, काँधमा अड्याउन खोज्ने प्रयास, अनि आफूले ठूलै जिम्मेवारी पाएजस्तो उनको अनुहार।

कति चिनेचिनेजस्तो लाग्छ।

म ऐनाअगाडि तयार भइरहेकी हुन्छु।

“मम्मा, मलाई पनि अलिकति लिपस्टिक लगाइदिनु न।”

म खाना बनाइरहेकी हुन्छु।

“मम्मा, म पनि हेल्प गर्छु!”

कहिलेकाहीँ म केही भन्न नपाउँदै उनी सानो कुचो लिएर घर बढार्न थालिसकेकी हुन्छिन्।

अनि सानी छोरी पनि दिदीको पछि लाग्छिन्।

दिदीले जे गरिन्, उनलाई पनि त्यही गर्नुपर्छ।

कहिले दुवैजना एउटै सामानका लागि झगडा गर्छन्। कहिले एकअर्कालाई नछोडी सँगै खेल्छन्।

उनीहरूलाई देख्दा मलाई आफ्नी बहिनीको याद आउँछ।

हामी पनि यस्तै थियौँ होला।

मामुले हामीलाई देखेर कति हाँस्नुहुन्थ्यो होला।

अनि कति थाक्नुहुन्थ्यो होला!

पहिले बुझ्न नसकेका कतिपय कुरा अहिले आफैँ बुझ्न थालेकी छु।

बिहान उठेदेखि साँझसम्म गर्नुपर्ने कामको अन्त्य हुँदैन।

कहिले खाना, कहिले घर, कहिले अफिसको काम।

कहिलेकाहीँ त पाँच मिनेट शान्त भएर बस्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ।

तर छोरीहरूलाई मेरो थकानसँग के मतलब!

उनीहरूलाई त मम्मा चाहिएको हुन्छ।

म काममा व्यस्त हुँदा ठूली छोरी केही कुरा सुनाउन आउँछिन्।

“मम्मा, हेर्नु न!”

म भन्छु, “एकछिन है बाबु, मम्माले यो काम सकेपछि।”

उनी फेरि आउँछिन्।

“मम्मा, अहिले हेर्नु न!”

कहिलेकाहीँ म अलि झर्किन्छु पनि।

अनि उनी चुप लागेर बस्छिन्।

त्यो बेला काम सक्नु नै सबैभन्दा जरुरी लागिरहेको हुन्छ।

तर केहीबेरपछि जब उनलाई हेर्छु, मनमा एउटा कुरा खेल्न थाल्छ।

म पनि त यसरी नै मामुको पछि लाग्थेँ।

उहाँलाई पनि आफ्ना काम हुन्थे होलान्। उहाँ पनि थाक्नुहुन्थ्यो होला।

तर मैले कहिल्यै सोधिनँ, “मामु, तपाईं थाक्नुभयो?”

मलाई त बस् उहाँको समय चाहिन्थ्यो।

अहिले मेरी छोरीलाई पनि त्यही चाहिएको रहेछ।

कहिलेकाहीँ उनीहरू सुतेपछि म उनीहरूका दिनभरिका कुराहरू सम्झिन्छु।

आज ठूली छोरीले सुनाउन खोजेको कुरा पूरा सुनिनँ कि?

सानी छोरीले खेल्न बोलाउँदा फेरि पछि आउँछु भनेँ कि?

आज उनीहरूले मसँग खेल्न खोजेका बेला म के गर्दै थिएँ?

यस्ता कुरा सम्झिँदा मन अलि नरम हुन्छ।

अनि अर्को दिन चाहिँ अलि धेरै समय दिन्छु भनेर सोच्छु।

तर अर्को दिन फेरि उस्तै हतार।

उस्तै काम।

उस्तै जिन्दगी।

अस्ति एक दिन ठूली छोरीले केही गर्न आग्रह गरिन्।

मैले सहजै भनेँ,

“भोलिपर्सि गरौँला है, बाबु।”

भनेपछि एकछिन आफैँ अडिएँ।

भोलिपर्सि!

यो शब्द त मैले पहिले पनि धेरै सुनेकी थिएँ।

फरक यत्ति थियो, पहिले म सुन्ने ठाउँमा थिएँ।

अहिले भन्ने ठाउँमा पुगेकी रहेछु।

मेरी छोरीले पनि मैले जस्तै सजिलै मानिन्।

उनलाई लाग्यो होला, आज नभए भोलि। भोलि नभए पर्सि।

तर म भने केहीबेर त्यही सोचिरहेँ।

कति धेरै भोलिपर्सिहरू बितेछन् हाम्रो जिन्दगीमा!

सानो छँदा मामुसँग गर्ने भनेर राखेका कति कुरा।

ठूलो भएपछि गर्ने भनेका कति योजना।

फुर्सद भएपछि सँगै बसौँला भनेर छोडिएका कति दिन।

हामीलाई लागिरहन्छ, समय त छँदै छ नि।

अहिले नभए पछि गरौँला।

तर त्यो ‘पछि’ आउँदासम्म कहिलेकाहीँ पहिलेको जस्तो रहँदैन रहेछ।

आज मेरी छोरीलाई मेरो ब्याग बोक्न मन पर्छ।

भोलिपर्सि उनलाई आफ्नै ब्याग बोकेर हिँड्न मन लाग्ला।

आज मेरो काखमा बस्न दुवैजना झगडा गर्छन्।

एक दिन उनीहरूका आफ्नै साथीहरू हुनेछन्, आफ्नै कुरा हुनेछन्, आफ्नै संसार हुनेछ।

आज म जहाँ जान्छु, उनीहरूलाई पनि सँगै जानुपर्छ।

एक दिन म नै उनीहरूसँग समय मागिरहेकी हुन सक्छु।

यो सोच्दा कहिलेकाहीँ मन कस्तो हुन्छ।

दुःख लागेको पनि होइन।

खुसी नलागेको पनि होइन।

बस्, समय अलि बिस्तारै बितिदिए हुन्थ्यो जस्तो लाग्छ।

अहिले मामुलाई सम्झिँदा पनि त्यस्तै हुन्छ।

म र बहिनी साना हुँदा उहाँको वरिपरि बिताएका ती साधारण दिनहरू फेरि एकपटक बाँच्न पाए कस्तो हुन्थ्यो होला!

न कुनै ठूलो उत्सव।

न कुनै विशेष दिन।

बस्, मामु भान्सामा काम गरिरहनुभएको होस्।

हामी दुई बहिनी उहाँको छेउमा बसेर गनगन गरिरहेका होऔँ।

अनि म फेरि एकपटक भनूँ,

“मामु, तपाईंको ब्याग म बोक्छु है!”

सायद मामु हाँस्नुहुन्थ्यो।

सायद “भारी छ, पर्दैन” भन्नुहुन्थ्यो।

तर यसपटक म ब्याग मात्रै बोक्न चाहन्नथेँ।

उहाँले त्यतिबेला एक्लै बोक्नुभएका कति कुरा रहेछन्, त्यो पनि अलिकति बाँड्न चाहन्थेँ।

अहिले बुझ्छु, सानो हुँदा हामीले देखेकी मामु र आज मैले बुझ्ने मामु एउटै हुनुहुन्छ।

बदलिएको त मेरो बुझाइ रहेछ।

आज साँझ मेरी ठूली छोरी मेरो छेउमा आएर बसिन्।

सानी छोरी पनि पछि लाग्दै आइन्।

एउटीले मेरो हात समातिन्। अर्की काखमा चढिन्।

मैले गरिरहेको काम एकछिनका लागि छोडिदिएँ।

उनीहरू आफ्नै कुरामा हाँसिरहेका थिए।

म भने उनीहरूलाई हेरिरहेकी थिएँ।

अचानक मामुको याद आयो।

अनि मनमनै सोचेँ—

मामु, हिजो तपाईंको पछि लागेर हिँड्ने म आज आफ्ना छोरीहरूको पछि लागेर हिँडिरहेकी छु।

हिजो तपाईंलाई “म बोक्छु” भन्ने म, आज उनीहरूलाई “भारी छ बाबु, पर्दैन” भनिरहेकी छु।

कति छिटो फेरिएछ सबै कुरा।

मलाई त अझै पनि मामुको ठूलो स्यान्डल लगाएर घरभरि हिँडिरहेकी सानी केटी नै हुँ जस्तो लाग्छ।

तर मेरो अगाडि दुई साना छोरीहरू छन्।

जो मलाई हेरेर ठूलो हुन खोजिरहेका छन्।

मैले उनीहरूलाई अझै अलि बेर सानो नै रहन दिए हुन्थ्यो।

अनि आफू पनि एकछिन मामुकै सानी छोरी बन्न पाए हुन्थ्यो।

सायद समयलाई रोक्न मिल्दैन।

तर आज उनीहरूसँग बस्न त मिल्छ।

आज उनीहरूको कुरा सुन्न मिल्छ।

आज उनीहरूले खेल्न बोलाउँदा काम एकछिन छोड्न मिल्छ।

किनकि भोलिपर्सि त आइहाल्छ।

तर आजको यो सानो उमेर, यो सानो आवाज, अनि “मम्मा, म बोक्छु है!” भन्ने त्यो उत्साह फेरि फर्केर आउँदैन।

— सानो सफर

Share this story

जीवनका पानाहरूबाट
Stories, learnings, experiences & life.

© 2026 Sano Safar · Srishty Lamichhane