मेरो दराजमा एउटा रातो लुगा थियो।
चार वर्षअघि हाम्रो anniversary मा अभिषेकले ल्याइदिएको।
त्यो बेला लगाउँदा मलाई आफू एकदमै राम्री लागेको थियो। शरीरमा पनि ठ्याक्कै मिलेको थियो। ऐनामा हेर्दा फेरि एकपटक फर्केर हेर्न मन लाग्ने खालको।
सायद त्यही भएर धेरै लगाइनँ। “यो त कुनै special occasion मा लगाउनुपर्छ” भनेर जोगाएर राखेँ।
अनि त्यहीँबाट सुरु भयो त्यसको दराजभित्रको यात्रा।
कहिलेकाहीँ दराज मिलाउँदा भेटिन्थ्यो। निकाल्थेँ, हेर्थेँ। एकछिन लगाऊँ कि जस्तो पनि लाग्थ्यो। फेरि मनले भन्थ्यो, “अहिले होइन, कुनै राम्रो दिन लगाउँला।”
फेरि पट्याएँ। फेरि राखेँ।
यसरी एकपटक, दुईपटक गर्दै चार वर्ष बितेछन्।
बीचमा special दिन नआएका पनि होइनन्। Anniversary आए, birthday आए, चाडपर्व आए। घुम्न गइयो, फोटो खिचियो, रमाइयो। तर योचाहिँ दराजमै बसिरह्यो।
आज हाम्रो सातौँ anniversary हो।
के लगाउने भनेर दराज खोल्दा फेरि त्यही देखेँ—चार वर्षदेखि “कुनै दिन” भन्दै राखेको। आजचाहिँ किन हो, निकालेर लगाउन मन लाग्यो।
लगाएँ। अनि ऐनाअगाडि उभिएँ।
एकछिन केही नमिलेको जस्तो लाग्यो।
लुगा उही थियो। तर ऐनामा देखिएकी म चार वर्षअघिकी म थिइनँ।
पहिले जसरी शरीरमा बसेको थियो, आज त्यसरी बसेन। कतै अलि कसिएको थियो, कतै मैले सम्झिएभन्दा फरक देखिएको थियो। पुरानो तस्वीर दिमागमा भएकाले होला, आज आफूलाई हेर्दा पहिलाजस्तो feel नै आएन।
एकछिन त साँच्चै लाग्यो—
फुकालिदिऊँ? अर्कै लगाऊँ?
चार वर्षसम्म जोगाएर राखेको कुरा केही मिनेटमै फेरि दराजमा फर्किने अवस्थामा पुग्यो।
तर आज किन हो, फुकाल्न मन लागेन।
एकदम confident भएर, “मलाई जस्तो छु त्यस्तै मन पर्छ” भनेर होइन। त्यस्तो कुनै ठूलो realization पनि त्यही क्षण आएको थिएन।
बस्, चार वर्षदेखि जोगाएर राखेको चीज आज फेरि दराजमै फर्काउन मन लागेन। त्यसैले लगाएँ।
फोटो खिच्दा सुरुमा आफ्नो शरीरतिर ध्यान नगएको पनि होइन।
पहिला त यस्तो देखिँदैनथ्यो। यो ठाउँमा अलि कसियो। अर्को angle बाट फोटो राम्रो आउला कि?
हामी आफूलाई कति छिटो पुरानो आफूसँग तुलना गर्न थाल्छौँ, है?
कहिलेकाहीँ त एउटा पुरानो लुगा नै काफी हुन्छ। लगाउनेबित्तिकै पुरानो फोटो याद आउँछ, त्यो बेलाको शरीर याद आउँछ। अनि ऐनामा उभिएकी आजकी आफूलाई हेर्नुभन्दा दिमागमा भएकी पुरानी आफूलाई हेर्न थाल्छौँ।
आज म पनि त्यही गर्दै थिएँ।
तर अलिकति समय बितेपछि त्यो कुरा बिर्सिएँ। फोटो खिचेँ। हाँसेँ। Anniversary मनाएँ। कहाँ कति fit भयो भन्ने कुरा त्यति महत्वपूर्ण लाग्न छोड्यो।
पछि फोटो हेर्दै गर्दा चाहिँ एउटा कुरा मनमा आयो—
मैले यसलाई चार वर्षसम्म किन जोगाएर राखेँ?
साँच्चै भन्नुपर्दा, मलाई थाहा छैन। कुनै special occasion का लागि भनेर राखेकी थिएँ।
तर special occasion भनेको आखिर कस्तो दिन?
चार वर्षमा त्यस्तो एउटा दिन पनि आएन र?
कि दिनहरू आएका थिए, मैले नै “योभन्दा अझै special दिन आउला” भनेर कुरिरहेँ?
त्यसपछि मलाई लाग्यो, यो त एउटा लुगाको कुरा मात्रै रहेनछ।
हामीमध्ये धेरैको जीवनमा यस्ता कति कुरा होलान्।
दराजमा राखेको मन परेको लुगा—अलि दुब्लाएपछि लगाउँछु भनेर।
एकदम मन परेको perfume—राम्रो ठाउँमा जाँदा लगाउँछु भनेर।
कसैले दिएको राम्रो सामान—अहिले चलाएर पुरानो हुन्छ भनेर जोगाएर।
कतै जान मन लागेको छ—फुर्सद भएपछि जाउँला।
आफ्नो फोटो खिच्न मन लागेको छ—अलि राम्रो देखिएपछि खिचौँला।
आफ्नो लागि केही सुरु गर्न मन लागेको छ—बच्चाहरू अलि ठूला भएपछि।
काम अलि कम भएपछि। पैसा अलि बढी भएपछि। तौल अलि घटेपछि। जीवन अलि मिलिसकेपछि।
कति धेरै कुरा हामी “पछि” का लागि राख्छौँ। म पनि राख्छु।
तर त्यो “पछि” आउँदासम्म हामी त्यहीँ रहँदैनौँ।
समय बित्छ। शरीर बदलिन्छ। उमेर थपिन्छ। जिम्मेवारी फेरिन्छ। सोच फेरिन्छ। हामी आफैं बदलिन्छौँ।
चार वर्षसम्म त्यो दराजमै लगभग उस्तै रह्यो।
तर म रहिनँ।
यी चार वर्षमा मेरो शरीर मात्रै होइन, मेरो जीवन पनि धेरै फेरियो। जिम्मेवारी थपिए, दिनचर्या फेरियो, म आफैं पनि फेरिएँ।
त्यसैले आज ऐनामा चार वर्षअघिकी आफूलाई खोज्नु नै सायद अलि अन्याय थियो।
तर हामीलाई यो कुरा आफूलाई भन्न कति गाह्रो हुन्छ। आजको शरीरलाई हेर्दा त्यसले पार गरेको समय बिर्सन्छौँ, केवल पहिलेको फोटो सम्झिन्छौँ।
“पहिला यस्तो थिएँ।”
“पहिला यो fit हुन्थ्यो।”
“पहिला म यसमा राम्री देखिन्थेँ।”
आज मलाई पनि त्यही लागेको थियो।
तर अहिले यी फोटो हेर्दा चार वर्षअघिको फोटोसँग तुलना गर्न त्यति मन लागेन। किनकि यो फोटो आजको हो—आजकी मेरो, आजको शरीरको, आजको जीवनको।
चार वर्षअघिको त्यो तस्वीर मलाई अझै मन पर्छ। आज ऐनामा हेर्दा त्यही feeling आएन—र त्यो पनि साँचो हो।
त्यसलाई “म त अहिले झन् राम्री छु” भनेर जबरजस्ती बदल्न चाहन्नँ।
तर आज आफूलाई पहिले जस्तो नलाग्नुको अर्थ आजको दिन कम सुन्दर हुनु त होइन नि।
सायद यही कुरा आज मलाई सबैभन्दा बढी छोयो।
हामीले आफूलाई स्वीकार गर्नु भनेको हरेक दिन ऐनामा हेरेर आफूलाई perfect ठान्नु मात्रै होइन रहेछ।
कहिलेकाहीँ आफूलाई पहिले जस्तो नलाग्दा पनि—
“ठीक छ, आज म यस्तै छु”
भनेर आफ्नो दिन बाँच्नु पनि रहेछ।
आज त्यो लुगा पहिलाजस्तो fit भएन।
तर मैले लगाएँ। हाँसेँ। फोटो खिचेँ। र राम्रो सम्झना बनाएँ।
चार वर्षअघि मैले यसलाई special occasion का लागि जोगाएर राखेकी थिएँ। आज बल्ल लाग्यो—सायद समस्या special occasion नआएको थिएन। म कुनै दिनलाई पर्याप्त special मान्न तयार भएकी थिइनँ।
हामी जीवनमा कति कुरा जोगाउँछौँ, है?
तर सबै कुरा जोगाएर राख्नकै लागि हुँदैनन्।
केही कुरा प्रयोग गर्नका लागि हुन्छन्। केही लुगा लगाउनका लागि। केही ठाउँ पुग्नका लागि। केही फोटो आजकै अनुहारमा खिच्नका लागि।
र केही खुसीहरू…
“पछि” का लागि राख्नै नहुने रहेछन्।
किनकि चार वर्षपछि लुगा त्यही हुन सक्छ। तर हामी त्यही हुँदैनौँ।
आज मेरो सातौँ anniversary मा, चार वर्षदेखि दराजमा बसेको त्यो रातो लुगा अन्ततः बाहिर निस्कियो।
पहिले जस्तो fit भएन। पहिले जस्तो feel पनि भएन।
तर म खुसी छु, मैले फेरि पट्याएर राखिनँ।
नत्र अर्को वर्ष पनि दराज खोल्दा म सायद फेरि त्यही भन्थेँ—
“कुनै special दिन लगाउँला।”
सायद त्यो लुगालाई special occasion चाहिएको थिएन।
मैले आजको दिनलाई special मान्न बाँकी थियो।
आजचाहिँ लाग्यो—
यही दिन किन होइन? ❤️
