जीवनका पानाहरूबाट

अलिकति म पनि बाँकी छु

अलिकति म पनि बाँकी छु

कहिलेकाहीँ लाग्छ,
म कुनै पुरानो घर हुँ,
जहाँ सबैका लागि कोठाहरू छन्,
तर आफ्नै लागि
एउटा झ्यालसम्म बाँकी छैन।

मेरो हाँसोमा अरूको खुसी मिसिएको छ,
मेरो निद्रामा अरूका सपनाहरू।
आफ्ना रहरहरू भने
कहिले दराजको कुनामा थन्किए,
कहिले भोलि भनेर सारिए,
अनि कतिपय त
सम्झनाबाटै बिस्तारै हराए।

कति अनौठो छ है,
आफ्नै जीवनमा
आफूलाई भेट्न पनि
समय मिलाउनुपर्ने रहेछ।

कहिलेकाहीँ
पुरानो गीतले झस्काउँछ,
कहिले कुनै गन्धले
वर्षौँअघिको साँझ फर्काइदिन्छ।
अनि एकछिनलाई लाग्छ,
त्यो बेलाकी म
कतै गएकी नै रहिनछु।

ऊ अझै त्यहीँ छे,
अधुरो कविताको अन्तिम हरफमा,
नलगाई राखेको एउटा लुगामा,
नपुगेको कुनै बाटोको कल्पनामा।

म उसलाई सोध्न चाहन्छु,
“यति धेरै वर्ष
कसरी पर्खियौ मलाई?”

सायद ऊ मुस्कुराउनेछे,
अनि भन्नेछे—

“तिमीले सबैलाई सम्झिरह्यौ,
मलाई मात्रै बिर्सियौ।
तर म कहाँ जान्थेँ र?
तिमीभित्रै त थिएँ।”

आज मसँग
पहिलेजस्तो फुर्सद छैन,
न त उस्तै सपना छन्।

तर अझै पनि
कुनै साँझ आफ्नै नाममा राख्न मन छ,
कुनै बाटो गन्तव्यबिनै हिँड्न मन छ,
अनि कुनै दिन
कसैको केही नभई
केवल आफू भएर बाँच्न मन छ।

किनकि
जिन्दगीले मलाई धेरै नाम दिएको छ,
धेरै सम्बन्धले बोलाएको छ।

तर ती सबै आवाजका बीच
कतै मधुरो स्वरमा
अझै कसैले मलाई
मेरै नामले बोलाइरहेछ।

म सुन्न चाहन्छु,
यसपालि उसलाई पनि।

Share this story

जीवनका पानाहरूबाट
Stories, learnings, experiences & life.

© 2026 Sano Safar · Srishty Lamichhane