बिहानको घामलाई हेरिरहेँ आज,
कति निश्चिन्त छ ऊ आफ्नै उज्यालोसँग!
न हिजोको अँध्यारोप्रति कुनै गुनासो,
न आज कसको आँगनमा पुगिएला भन्ने चिन्ता।
कसैको चिसो आँगनमा न्यानो बनेर पोखिन्छ,
कसैको बन्द झ्यालमा चुपचाप ढकढक्याउँछ।
कसैले स्वागत गर्छन्, कसैले पर्दा तानिदिन्छन्,
तर ऊ आफ्नो उज्यालो फिर्ता माग्न जाँदैन।
अनि लाग्यो,
घामलाई पनि मान्छेका बानी थाहा रहेछन् क्यारे!
कसैको आँगनमा न्यानो छर्नु उसको स्वभाव होला,
तर कसैको मनको मौसमअनुसार
आफ्नो ऋतु फेर्न ऊ किन राजी हुन्थ्यो र!
